काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सुरुदेखि नै उद्धार तथा राहतमा सक्रिय रहेको नेपाली कम्युनिष्ट पार्टी निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) ले बाढीपीडितका लागि अस्थायी आवास निर्माण सुरु गरेको छ । वाइसीएलले पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ का ठुलो खोला, लामोस्वती, रातमाटे र महादेवफाँटका प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गर्ने भएको हो ।
वाइसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार बाढी प्रभावित क्षेत्रमा ६०० स्वयंसेवक नियमित रूपमा उद्धार तथा राहत कार्यमा परिचालित छन् । बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरणसँगै प्रभावित परिवारको गास, बास र अन्य आवश्यकतामा सहयोग गर्ने काम भइरहेको उनले बताए ।
‘अरू जान नसकेको र गर्न नसकेको काम हामीले गरिरहेका छौं,’ अध्यक्ष ओलीले भने, ‘वैकल्पिक सडक हुँदै कठिन भूगोल र प्रतिकूल मौसम पार गरेर प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्याइरहेका छौं ।’
उनका अनुसार रसुवामा ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेट, सेनिटरी प्याड र म्याट्रेसलगायत सामग्री पुर्याइएको छ । त्यस्तै, नुवाकोटको त्रिशूलीपारि सडक सञ्जाल विच्छेद भएपछि धादिङको बाटो हुँदै विदुर नगरपालिका–७, ८ र ९ का अति प्रभावित वडामा सिरक, डसना, तन्ना, औषधि, स्टेसनरी सामग्री, म्याट्रेस, खाद्यान्न, चप्पल तथा बालबालिकाका कपडालगायत सामग्री वितरण गरिएको उनले बताए ।
राहत वितरणसँगै धादिङ र नुवाकोटका प्रभावित घरहरूको सरसफाइको कामसमेत भइरहेको अध्यक्ष ओलीले जानकारी दिए । स्थानीय बासिन्दाको सुझाव र आवश्यकताका आधारमा अस्थायी आवास निर्माण सुरु गरिएको उनले बताए ।
‘आजको दिनसम्म पनि कतिपय पीडित परिवारको घर सरसफाइ हुन सकेको छैन । बस्ने बासको टुंगोसमेत छैन,’ ओलीले भने, ‘यही समस्यालाई मध्यनजर गर्दै अस्थायी आवास निर्माण सुरु गरेका हौं ।’
उनका अनुसार मातृ पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन र स्थानीय आवश्यकताका आधारमा राहत तथा पुनर्स्थापनाका काम अघि बढाइएको छ ।
वाइसीएलले ‘निभेको चुलो, बालौं आशा’ अभियानमार्फत बाढीपीडितलाई खाना पकाउने ग्यास र खाद्यान्नसमेत उपलब्ध गराउँदै आएको जनाएको छ । चरम ग्यास अभाव, सीमित स्रोतसाधन र केन्द्र सरकारको असहयोगलगायत प्रतिकूलताका बाबजुद सांगठनिक जनसम्पर्क तथा सहयोगी दाताहरूको सहयोगमा राहत तथा पुनर्स्थापनाका काम जारी राखिएको अध्यक्ष ओलीले बताए ।
वाइसीएलले प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न राहत वितरणसँगै अस्थायी आवास निर्माण, घर सरसफाइ तथा अन्य पुनर्स्थापनाका कामलाई प्राथमिकता दिएको जनाएको छ ।
.jpg)
