चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभिरमा भासिएको सडकमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि १८ दिनपछि आज बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।
भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभिरको करिब १०० मिटर सडक पूर्ण रूपमा भासिएको थियो । सडक बगेपछि पृथ्वी राजमार्गको उक्त खण्डमा यातायात सञ्चालन प्रभावित भएको थियो ।
सडक नै बगाएर यातायात ठप्प भएपछि सडकको माथिल्लो भागतर्फको ढिस्को काटेर वैकल्पिक ट्र्याक निर्माण गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक योजना ९पश्चिम खण्ड०का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक काम सम्पन्न भएपछि बिहीबार बिहानदेखि नियमित रूपमा दुवैतर्फ सवारी सञ्चालन गरिएको हो ।
नयाँ ट्र्याक निर्माणका लागि भदौ १८ गतेदेखि नै काम सुरु गरिएको थियो । सडक पुनःस्थापनाका क्रममा आवश्यक जनशक्ति, उपकरण तथा निर्माण सामग्री परिचालन गरी छोटो समयमै वैकल्पिक मार्ग तयार पारिएको सडक योजनाले जनाएको छ ।
सडक पूर्ण रूपमा सञ्चालनमा आउनुअघि दुई दिनदेखि कृष्णभिरमा रोकिएका केही सवारीसाधनलाई साँझको समयमा क्रमशः कटाइएको थियो । बिहीबारदेखि भने सवारी आवागमनलाई नियमित गरिएको हो ।
तुइन खोलाको काम पनि तत्काल रोकियो
कृष्णभिरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रूपमा रोकिएको यातायात पनि बिहीबारबाट सहज भएको छ ।
कृष्णभिरको सडक सञ्चालनमा आएपछि तत्कालका लागि तुइन खोलामा पहिरो रोकथामका लागि हुँदै आएको काम रोकिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
कृष्णभिरको सडक लामो समय अवरुद्ध हुँदा ठूला मालवाहक सवारीसाधन राजधानीतर्फ जान सकेका थिएनन् । त्यसको प्रत्यक्ष असर आपूर्ति व्यवस्थामा समेत परेको थियो । विशेषगरी काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्तिमा समस्या देखिएको थियो ।
भोटेकोशीको बाढीपछि क्षतिग्रस्त भएको थियो सडक
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढेको थियो । त्यसको केही दिनपछि भदौ १४ गते आएको अर्को बाढीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएको थियो ।
अन्य स्थानमा सडक मर्मत गरेर यातायात सञ्चालनमा ल्याइए पनि कृष्णभिरमा नदीले सडकको ठूलो भाग नै बगाएपछि तत्काल सडक सञ्चालन गर्न कठिन भएको थियो ।
कृष्णभिरबाट दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने भएकाले यो सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यका र चितवनसहित देशका विभिन्न भागबीचको यातायात तथा आपूर्ति व्यवस्थामा प्रत्यक्ष प्रभाव परेको थियो ।
नयाँ ट्र्याक खुलेसँगै अहिले पृथ्वी राजमार्गमा दुईतर्फी सवारी सञ्चालनमा आएको छ । सडकलाई थप सुरक्षित र स्थायी रूपमा पुनःस्थापना गर्ने काम भने आवश्यकताअनुसार अघि बढाइने सडक आयोजनाले जनाएको छ ।
.jpg)
