कांग्रेसको वडा अधिवेशन : ६ हजार १३२ वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन

कांग्रेसको वडा अधिवेशन : ६ हजार १३२ वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन

images
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दुई दिनमा देशभरका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा कार्यसमिति गठनसँगै विधानअनुसार क्षेत्रीय प्रतिनिधिसमेत चयन भएका छन् ।

    केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार असोज ३ र ४ गते ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको हो ।

    ‘असोज ३ र ४ गते ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकिएको छ । अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको छ,’ कटुवालले भने ।

    कांग्रेसका अनुसार अधिकांश वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । केही स्थानमा भने निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनोट गरिएको छ ।

    दुई दिनमा सम्पन्न अधिवेशन ताप्लेजुङदेखि कञ्चनपुरसम्मका अधिकांश जिल्लाका वडामा भएको हो । काठमाडौं, ललितपुर, भक्तपुरसहित कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

    वडा अधिवेशनबाट चयन भएका कार्यसमिति र क्षेत्रीय प्रतिनिधिले अब कांग्रेसको आगामी तहगत अधिवेशनमा सहभागिता जनाउनेछन् । वडा अधिवेशन सम्पन्न भएसँगै कांग्रेसको १५औँ महाधिवेशनको संगठनात्मक प्रक्रिया थप अघि बढेको छ ।

    कांग्रेसले वडा तहबाट सुरु भएको अधिवेशन प्रक्रिया पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला हुँदै केन्द्रीय महाधिवेशनतर्फ अघि बढाउने कार्यतालिका बनाएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend