एक महिनापछि पनि भोटेकोशीको घाउ उस्तै

एक महिनापछि पनि भोटेकोशीको घाउ उस्तै

१,४५३ को मृत्यु, ५,५५० बेपत्ता, क्षति ४ खर्बभन्दा बढी, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी आवश्यक

images
शनिवार, आश्विन १० २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक महिना पूरा भएको छ । गत भदौ १० गते बिहान आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीमा हालसम्म १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५५० जना अझै बेपत्ता छन् । १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका कतिपय प्रभावित अझै अस्थायी आश्रयस्थलमा बसिरहेका छन् ।

    बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा अन्य मानवीय सेवामा तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी परिचालित छन् ।

    विपदबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकनअनुसार बाढीले ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी गरेको छ । द्रुत क्षति तथा आवश्यकता आकलन ९आरडीएनए० प्रतिवेदनले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ ।

    बाढीबाट ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन् । त्यस्तै ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ ।

    जलविद्युत् र ऊर्जा क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य आयोजना प्रभावित भएका छन् ।

    सडक तथा पुलतर्फ ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ । ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकामा ३३ वटा बगेका छन् । त्यस्तै ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

    बाढीबाट करिब ८ हजार ३०० घरपरिवार तथा ४० हजार जनसंख्या प्रभावित भएका छन् । कृषि क्षेत्रमा मात्रै १ हजार ८०६ हेक्टर बालीमा क्षति पुगेको छ भने पशुपालन, पक्षीपालन र माछापालनसमेत प्रभावित भएका छन् । १७ बैंक शाखा र करिब ४ हजार ८०० व्यापारिक प्रतिष्ठानमा समेत क्षति पुगेको विवरणमा उल्लेख छ ।

    उद्धारपछि राहत र पुनर्स्थापनातर्फ ध्यान

    बाढी गएको एक महिनापछि पनि प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको काम रोकिएको छैन । क्षतिग्रस्त सडक तथा झोलुङ्गे पुल पुनर्निर्माण गरी प्रभावित बस्तीलाई पुनः यातायात सञ्जालमा जोड्ने काम पनि अघि बढिरहेको छ ।

    विपद्को प्रारम्भिक चरणमै नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाउँदै जिल्ला शाखा तथा स्वयंसेवकलाई प्रभावित क्षेत्रमा परिचालन गरेको थियो ।

    रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ ९आईएफआरसी० का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंको पहलमा आपत्कालीन सहयोग कोष ९डीआरआईएफ० मार्फत १२ लाख अमेरिकी डलर परिचालन गर्न स्वीकृति सुनिश्चित गरिएको थियो । त्यसबाट प्रभावितको तत्काल खोज, उद्धार तथा राहतका लागि आवश्यक स्रोत परिचालन गरिएको रेडक्रसले जनाएको छ ।

    नेपाल रेडक्रसका स्वयंसेवकहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै तत्कालीन आवश्यकता पहिचान, राहत वितरण र स्थानीय तहसँग समन्वयमा सहयोग गरिरहेका छन् ।

    रेडक्रसका अनुसार प्रारम्भिक चरणमै खानेपानी, त्रिपाल, तारपोलिन, कम्बल, म्याट्रेस, प्राथमिक उपचार सामग्री, स्ट्रेचर, शव व्यवस्थापनका झोला, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श, आपत्कालीन स्वास्थ्य सेवा र सरसफाइ सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो ।

    आईएफआरसीका महासचिव चापागाईंले आपत्कालीन कोष समयमै परिचालन भएकाले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सहयोग पुगेको बताएका छन् । 

    उनका अनुसार तत्काल उद्धार र राहतका लागि स्रोत परिचालन हुनुले प्रभावित समुदायमा राज्य र मानवीय संस्थाको उपस्थितिको अनुभूति गराउन तथा थप मानवीय संकट न्यूनीकरण गर्न सहयोग पुगेको थियो ।

    उनले भोटेकोशी बाढीको प्रतिकार्यलाई जलवायुजन्य जोखिमलाई ध्यानमा राखिएको मानवीय प्रतिकार्यको एउटा महत्वपूर्ण उदाहरणका रूपमा विकास गर्न सकिने बताए । 

    एक महिनामा हजारौँ परिवारले पाए राहत

    नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार बाढी गएको सुरुआती दिनदेखि नै प्रतिकार्य निरन्तर सञ्चालनमा छ । अहिले आवास तथा गैरखाद्य सामग्री, खाद्य सामग्री, खानेपानी तथा सरसफाइ, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना र नगद तथा भौचर सहायताका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

    रेडक्रसका अनुसार हालसम्म १ हजार २१८ सेट आवास तथा गैरखाद्य सामग्री, ५६३ त्रिपाल, ७०१ म्याट्रेस र १ हजार ३२४ कम्बल वितरण गरिएको छ । करिब २ हजार प्रभावित परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको छ ।

    त्यस्तै, करिब २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्‍याइएको छ । १८ वटा पानी ट्याङ्की व्यवस्थापन गर्नुका साथै आवश्यक स्थानमा ट्याङ्करमार्फत पानी वितरण गरिएको छ ।

    मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगबाट १ हजार ७१० जना लाभान्वित भएका छन् भने रेडक्रसको आपत्कालीन स्वास्थ्य क्लिनिकमार्फत १ हजार २३९ जनाले स्वास्थ्य परीक्षण, औषधि तथा अन्य स्वास्थ्य सेवा पाएका छन् ।

    परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनासम्बन्धी २ हजार २९१ खोजतलासका केसमा सेवा तथा सहजीकरण गरिएको छ । नेपाल सरकारका विभिन्न सुरक्षा निकायलाई २ हजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको रेडक्रसले जनाएको छ ।

    नगद सहायता, बालबालिका र संरक्षणमा पनि काम

    तत्कालीन आवश्यकता पूरा गर्न धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहायता उपलब्ध गराइएको छ ।

    प्रभावित समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझाव संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा रेफरल सेवा प्रदान गरिएको छ ।

    संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणअन्तर्गत ५८७ मर्यादा किट र १ हजार ८७ स्वच्छता किट वितरण गरिएको छ । त्यस्तै बालमैत्री सुरक्षित स्थानमार्फत १ हजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराइएको छ ।

    प्रभावित समुदायलाई सूचना तथा आवश्यक सहयोग उपलब्ध गराउन विभिन्न १७ स्थानमा सूचना तथा सहायता कक्ष सञ्चालन गरिएको छ ।

    बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य, परिवार पुनर्मिलन, राहतमा पहुँच, नगद सहायता तथा गुनासा दर्तासम्बन्धी जानकारीमूलक सामग्री तयार गरी सामाजिक सञ्जाल तथा रेडियोमार्फत प्रसार गरिएको रेडक्रसले जनाएको छ ।

    अबको चुनौती पुनर्निर्माण

    एक महिनापछि पनि प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको चुनौती थपिएको छ । हजारौँ परिवारको आवास व्यवस्थापन, क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण, ऊर्जा संरचनाको पुनःस्थापना, जीविकोपार्जनको पुनःस्थापना तथा खानेपानी र स्वास्थ्य सेवाको निरन्तरता मुख्य चुनौतीका रूपमा देखिएका छन् ।

    नेपाल रेडक्रसले विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता जारी राख्ने जनाएको छ ।

    प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको रेडक्रसले जनाएको छ ।

    भोटेकोशी बाढीले तत्कालीन उद्धार र राहतको मात्र होइन, ठूलो स्तरको पुनर्निर्माण र पुनर्स्थापनाको चुनौती पनि राज्यसामु उभ्याएको छ । क्षतिको विशाल आकार र आवश्यक पर्ने स्रोतको तुलनामा पुनर्निर्माणको काम दीर्घकालीन र जटिल हुने देखिएको छ ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend