काठमाडौं । शनिबार राति करिब १२ः३० बजे महाराजगञ्जस्थित पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा सादा पोशाकका प्रहरी पुगे। घरमा रहेका सुरक्षाकर्मीलाई गेट खोल्न लगाइयो। प्रहरी आएको थाहा पाएपछि निदाइरहेका जबरा उठे।
प्रहरीको सन्देश थियो– ‘तपाईंमाथि सुरक्षा थ्रेट छ, हामीसँग जानुपर्छ।’
जबराले तत्काल प्रश्न गरे– ‘कस्तो थ्रेट ? मलाई किन लैजानुपर्यो ?’ उनले आफूलाई खतरा भएको हो भने घरमै सुरक्षा दिन आग्रह गरे। तर प्रहरी टोलीले उनलाई कार्यालय लैजानैपर्ने अडान लियो।
करिब डेढ घण्टासम्म चलेको भनिएको सवाल–जवाफपछि जबरा राति करिब २ बजे आफ्नै गाडीमा प्रहरीसँग टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे। उनलाई कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखियो।
यहीँबाट सुरु हुन्छ घटनाको सबैभन्दा ठूलो प्रश्न– यदि जबरालाई पक्राउ गरिएको होइन भने उनलाई मध्यराति घरबाट प्रहरी कार्यालय किन लगियो ?
प्रहरीले अहिलेसम्म जबराविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरेको छैन। बरु उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको नियन्त्रणलाई ‘सुरक्षा थ्रेट’सँग जोडेको छ। एसएसपी सन्तोष खड्काका अनुसार जबरामाथि भौतिक आक्रमण हुन सक्ने सूचना आएपछि सुरक्षाका लागि उनलाई कार्यालयमा ल्याइएको हो।
तर, प्रहरीको यही स्पष्टीकरणले अर्को प्रश्न जन्माएको छ– खतरा जबरामाथि थियो भने घरमै सुरक्षा बढाउनुको सट्टा उनलाई प्रहरी कार्यालयमै किन लगियो ? जबराले प्रहरीसँग यही प्रश्न गरेको उनको परिवारिक स्रोतलाई उद्धृत गर्दै सार्वजनिक समाचारहरुमा उल्लेख छ। प्रहरी भने खतरा तत्कालको भएकाले कार्यालयमा ल्याइएको बताउँछ।
‘पक्राउ’देखि ‘सुरक्षा’सम्म
घटनाको प्रारम्भिक विवरणमा प्रहरीकै अधिकारीहरूले जबरा पक्राउ परेको बताएका थिए। बिहानसम्म सञ्चारमाध्यममा उनी पक्राउ परेको खबर आयो। पछि प्रहरीको व्याख्या फेरियो– ‘पक्राउ होइन, सुरक्षा दिन ल्याइएको हो।’
एसएसपी खड्काले उनलाई ‘सुरक्षित स्थान’मा राखिएको बताएका थिए। तर त्यो सुरक्षित स्थान कहाँ हो भन्ने प्रहरीले सार्वजनिक गरेन। पछि करिब १०–१२ घण्टापछि जबरालाई परिवारको जिम्मा लगाइयो र अब उनको निवासमै सुरक्षा दिने बताइएको छ।
यसरी एउटै घटनामा प्रहरीको भाष्य क्रमशः ‘पक्राउ’, ‘सुरक्षा थ्रेट’ , ‘सुरक्षित स्थान’ , ‘घरमै सुरक्षा’ मा बदलिएको देखिन्छ।
यही कारण घटनाको वास्तविक उद्देश्यबारे प्रश्न उठेको हो।
के थियो त्यो ‘सुरक्षा थ्रेट’ ?
प्रहरीले जबरामाथि कस्तो खतरा थियो, खतरा कसबाट थियो र त्यसको सूचना कहाँबाट आयो भन्ने खुलाएको छैन। प्रहरीले ‘जेनजीको एउटा समुहबाट आक्रमण हुन सक्ने’सम्मको सूचना आएको दाबी गरेको छ। तर त्यसको विस्तृत आधार भने सार्वजनिक गरिएको छैन।
यदि जोखिम यति गम्भीर थियो कि मध्यराति नै जबरालाई घरबाट उठाउनुपर्ने अवस्था आयो भने त्यसको जोखिम मूल्यांकन के थियो रु सूचना कति विश्वसनीय थियो ? घरमै थप सुरक्षा दिन नसकिने अवस्था के थियो ? यी प्रश्नको जवाफ प्रहरीले दिएको छैन।
त्यसैले घटनाले सुरक्षा व्यवस्थापनभन्दा बाहिरको कुनै पृष्ठभूमि थियो कि भन्ने जिज्ञासा बढेको छ।
राजनीतिक पृष्ठभूमिको दाबी
यस घटनासँग जोडिएका केही सुरक्षा तथा राजनीतिक स्रोतहरूले भने जबराको पछिल्लो राजनीतिक सक्रियता, विभिन्न राजनीतिक व्यक्तिसँगको भेटघाट र सरकारविरोधी गतिविधिसँग उनको सम्भावित सम्बन्धबारे सुरक्षा निकायले चासो राख्दै आएको दाबी गरेका छन्।
स्रोतहरूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जबराको पछिल्लो भेटघाटलाई समेत यसै पृष्ठभूमिसँग जोड्ने गरेका छन्। ओलीले पछिल्लो समय संसद् पुनर्स्थापनालाई आफ्नो पार्टीको राजनीतिक एजेन्डा बनाएका छन्।
प्रधानमन्त्री कार्यालयसम्बद्ध एक अधिकारीले समेत जबराका पछिल्ला गतिविधिमाथि निगरानी रहेको र सरकारविरुद्ध सम्भावित राजनीतिक गतिविधिबारे सूचना आएको दाबी गरेका छन्।
तर जबरालाई नियन्त्रणमा लिन प्रधानमन्त्री बालेन्द्र शाहले नै प्रहरीलाई निर्देशन दिएको, ओलीसँगको भेटघाटकै कारण उनलाई उठाइएको वा कुनै ‘रोडम्याप’मा उनी संलग्न रहेको भन्ने दाबी प्रहरीले औपचारिक रूपमा पुष्टि गरेको छैन। यी दाबी स्रोतमा आधारित छन् र स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।
मानव अधिकार आयोगसमेत पुग्यो
जबरालाई टेकु ल्याइएको खबरपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली समेत अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर टोलीले जबरालाई भेट्न पाएनन । पूर्वप्रधानन्यायाधीशजस्तो उच्च संवैधानिक पद सम्हालिसकेको व्यक्तिलाई मध्यरातमा घरबाट लगिएको, पक्राउ पुर्जी नभएको र नियन्त्रणको कारणबारे प्रहरीको स्पष्ट विवरण नआएको अवस्थामा घटनाको प्रक्रिया थप प्रश्नको घेरामा परेको छ।
अन्ततः घर फर्किए, प्रश्न बाँकी
करिब १०–१२ घण्टा प्रहरीको निगरानीमा राखिएपछि जबरालाई परिवारको जिम्मा लगाएर घर पठाइयो। प्रहरीले उनीविरुद्ध कुनै मुद्दा अघि बढाउने बताएको छैन।
तर जबरा घर फर्किएसँगै घटनाको रहस्य सकिएको छैन। कस्तो सुरक्षा थ्रेट थियो ? सूचना कसले दियो ? मध्यरातमै घरबाट किन उठाउनुपर्यो ? पक्राउ पुर्जीबिनै प्रहरी कार्यालय किन लगियो ? ‘पक्राउ’ भनिएको घटना केही घण्टामै ‘सुरक्षा’मा कसरी बदलियो ? र अन्ततः उनलाई प्रहरी कार्यालयमै राखेर के सोधपुछ गरियो ?
यी प्रश्नको स्पष्ट र आधिकारिक जवाफ नआएसम्म चोलेन्द्र जबरा प्रकरण केवल एउटा सुरक्षा घटनाका रूपमा टुंगिने देखिँदैन। प्रहरीको आधिकारिक व्याख्या र घटनाबारे सार्वजनिक भएका अन्य विवरणबीचको अन्तरले नै यसलाई थप रहस्यमय बनाएको छ।
.jpg)
