काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
नागोयास्थित कोरोगी स्पोर्ट्स पार्कमा मंगलबार तय भएको नेपाल र श्रीलङ्काबीचको क्वार्टरफाइनल खेल लगातारको वर्षाका कारण सुरु हुन सकेन। वर्षा नरोकिएपछि टससमेत हुन नसक्दा खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ।
खेल रद्द भएपछि प्रतियोगिताको नियमअनुसार ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेको हो। हालको ट्वान्टी–२० विश्व वरियतामा श्रीलङ्का नवौँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा रहेको छ।
यससँगै एसियाली खेलकुदमा पहिलोपटक सेमिफाइनल पुग्ने नेपालको लक्ष्य यसपटक पनि पूरा हुन सकेन।
नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण नेपाल र जापानबीचको समूह चरणको खेलसमेत प्रभावित भएको थियो। उक्त खेलमा दुवै टोलीले अङ्क बाँडेका थिए।
समूह चरणको पहिलो खेलमा भने नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। जापानसँग अङ्क बाँडेपछि नेपाल समूहबाट क्वार्टरफाइनलमा पुगेको थियो।
.jpg)
