बागलुङमा बाढीपहिरोको कहरः मृतकको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता

बागलुङमा बाढीपहिरोको कहरः मृतकको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता

images
मंगलवार, आश्विन १३ २०८३
  • बागलुङ । बागलुङमा पछिल्ला तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । पहिरोमा परी एक जना अझै बेपत्ता छन् ।

    जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा मानवीय क्षति भएको हो । पछिल्लो घटनामा ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु, म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन् । पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए ।

    यसअघि शनिबार ताराखोला गाउँपालिकामै एक जनाको मृत्यु भएको थियो । आइतबार तमानखोला गाउँपालिकामा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए । त्यस्तै, निसीखोला गाउँपालिकामा पहिरोमा परी पाँच जनाको मृत्यु भएको थियो ।

    लगातारको वर्षासँगै जिल्लाका विभिन्न क्षेत्रमा बाढीपहिरोको जोखिम बढेपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले उद्धार र खोजी कार्यलाई तीव्रता दिएका छन् ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend