संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

images
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं । सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

    बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २ करोड ७० लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ।

    त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केवर–पथलैया सडक खण्ड, गजार्ड खोला साना जलविद्युत् आयोजना र ४० मेगावाट क्षमताको बलेफीखोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।

    सशस्त्र प्रहरी बल, नेपालका तालिम शिक्षालय, गुल्म तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि आवश्यक राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

    बैठकले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्न बनेका विधेयक संघीय संसद्मा पेस गर्नसमेत स्वीकृति दिएको छ।

    यसैगरी, प्रशासनतर्फ दुई उच्च अधिकारीको बढुवा तथा पदस्थापन गर्ने निर्णय भएको छ। सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend