एउटा मोर्चा हार्दैमा निराश नहुन ओलीको सन्देश

एउटा मोर्चा हार्दैमा निराश नहुन ओलीको सन्देश

सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा जुट्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

images
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिने सामान्य असहमति र मतभेदलाई व्यवस्थापन गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यसँग बुधबार भएको भर्चुअल संवादमा अध्यक्ष ओलीले पार्टीको आन्तरिक एकतालाई थप मजबुत बनाउँदै संगठन परिचालनमा जुट्न आग्रह गरेका हुन्।

    पार्टीभित्र एकअर्काका आलोचना र असहमतिलाई सहज रूपमा लिनुपर्नेमा जोड दिँदै ओलीले सामान्य विषयलाई लिएर आपसी दूरी बढाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

    “शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ । सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ,” ओलीले भने।

    उनले एमालेभित्र कुनै समस्या नै छैन भनेर दाबी गर्नुभन्दा देखिएका कमजोरी पहिचान गरी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउनुपर्ने बताए। पार्टी विभाजन हुने अपेक्षा गरिरहेका शक्तिहरू भए पनि एमाले विचार र संगठनका दृष्टिले एकताबद्ध रहेको उनको दाबी थियो।

    वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनलाई केन्द्रमा राखेर पार्टी गतिविधि अघि बढाउनुपर्ने ओलीले बताए। निर्वाचनलाई लक्षित गर्दै स्थानीय तहसम्म संगठन परिचालन, जनसम्बन्ध विस्तार र पार्टी गतिविधिलाई प्रभावकारी बनाउन उनले निर्देशन दिए।

    एउटा निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै ओलीले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको राजनीतिक यात्राको उदाहरणसमेत प्रस्तुत गरे।

    “हामी एउटा मोर्चामा हारेका मात्र हौँ । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,” उनले भने।

    ओलीले एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको भन्दै सूचना प्रविधिको प्रयोगमार्फत पार्टीका गतिविधि र उपलब्धिलाई जनतामाझ पुर्‍याउनुपर्ने बताए। डिजिटल माध्यममा पार्टीको प्रभावकारी उपस्थिति बढाउन नेता–कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

    उनले नेता–कार्यकर्तालाई आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहँदै संगठन निर्माण, जनसम्बन्ध विस्तार र पार्टी अनुशासनलाई प्राथमिकतामा राख्न निर्देशन दिए।

    असोज मसान्तसम्म सदस्यता अभिलेखीकरण

    भर्चुअल बैठकमा एमाले महासचिव शङ्कर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू पार्टी निर्देशिकामार्फत छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिए।

    उनका अनुसार पार्टी सदस्यता नवीकरणको प्रक्रिया हाललाई रोकिएको छ भने यसअघि प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गरिनेछ।

    वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको पोखरेलले बताए। संगठनमा लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्था कार्यान्वयनमा कडाइ गरिने पनि उनले जानकारी दिए।

    जनतासँग पार्टीको सम्बन्ध थप मजबुत बनाउन संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र तल्लो तहसम्म पार्टीको उपस्थिति सक्रिय बनाउने महासचिव पोखरेलको भनाइ थियो।

    बैठकमा पार्टी उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा सचिवहरू भानुभक्त ढकाल, पद्मा अर्याललगायत नेताहरू सहभागी थिए।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend