देउवा पक्ष पनि अधिवेशनमा होमियो

देउवा पक्ष पनि अधिवेशनमा होमियो

images
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विभाजन अब वडा तहसम्मै पुगेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आजदेखि देशभर छुट्टै वडा अधिवेशन सुरु गर्दै महाधिवेशन प्रक्रियालाई अघि बढाउन लागेको हो।

    देउवा पक्षले शशांक कोइरालाको संयोजकत्वमा गठन गरेको १५औँ महाधिवेशन तयारी समितिमार्फत वडा अधिवेशन सञ्चालन गर्न लागेको हो। देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्ने तयारी गरिएको देउवा पक्षले जनाएको छ।

    यसअघि गगन थापा नेतृत्वको कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गरिसकेको छ। उक्त प्रक्रियामा देउवा पक्ष सहभागी भएको थिएन। त्यसपछि देउवा पक्षले आफ्नै संरचनाअनुसार वडा अधिवेशन अघि बढाउन लागेको हो।

    अधिवेशनमा सक्रिय सहभागिताका लागि निवर्तमान सभापति देउवाले बिहीबार पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। झण्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसका लागि महाधिवेशन महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन सबैलाई सहभागी हुन आग्रह गरेका छन्।

    देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि कांग्रेसले गरेको संघर्ष, त्याग र बलिदानलाई अझ मजबुत बनाउने दिशामा महाधिवेशन केन्द्रित हुनुपर्ने बताएका छन्।

    उनले पार्टीभित्र रहेका मतभेदलाई महाधिवेशनकै माध्यमबाट समाधान गर्दै कांग्रेसलाई थप बलियो बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

    829672100_1649162133245611_2350187610333308326_n.jpg

    नेताहरूलाई वडा तहबाट आउन नपर्ने व्यवस्था

    देउवा पक्षले अघि बढाएको अधिवेशन प्रक्रियामा नेतृत्व चयनको विधि भने गगन थापा पक्षले अपनाएको भन्दा फरक छ। देउवा पक्षले विगतको विधानमा रहेको व्यवस्थालाई निरन्तरता दिँदै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ।

    यसको विपरीत गगन थापा नेतृत्वको कांग्रेसले यसअघि सम्पन्न गरेको अधिवेशन प्रक्रियामा जुनसुकै तहका नेता तथा पदाधिकारीसमेत वडा तहबाटै निर्वाचित भएर माथिल्लो तहमा आउनुपर्ने व्यवस्था गरेको थियो।

    गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। त्यसयता कांग्रेसभित्र दुई फरक प्रक्रियाबाट महाधिवेशन अघि बढिरहेको छ।

    देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। वडा तहबाट सुरु भएको दुई पक्षको फरक अधिवेशन प्रक्रियाले कांग्रेसको आगामी महाधिवेशनसम्म पार्टीभित्रको शक्ति संरचना र प्रतिनिधित्व कसरी तय हुन्छ भन्ने प्रश्नलाई पनि थप पेचिलो बनाएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend