मुस्ताङ । चीनसँगको उत्तरी व्यापारिक नाका कोरला हुँदै नेपाल भित्रिएका सामान बोकेका १५० भन्दा बढी कन्टेनर गन्तव्यसम्म पुग्न नपाई भन्सार यार्डमै रोकिएका छन्। बेनी–जोमसोम–कोरला सडकमा आएको बाढीपहिरो र नदी कटानका कारण पाँच दिनसम्म यातायात अवरुद्ध भएपछि दसैँ–तिहारलाई लक्षित गरेर ल्याइएका सामानको ढुवानी प्रभावित भएको हो।
मुस्ताङ भन्सार कार्यालयका अनुसार यार्डमा रहेका कन्टेनरमध्ये करिब ९० प्रतिशतको भन्सार जाँचपास पूरा भइसकेको छ। सडक अवरुद्ध भएकै कारण ती कन्टेनर गन्तव्यतर्फ पठाउन नसकिएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिएका छन् ।
उनका अनुसार केही कन्टेनर भने अझै जाँचपासको प्रक्रियामा छन्। बाँकी प्रक्रिया पनि दुई दिनभित्र पूरा गर्ने तयारी छ। तर सडकको अवस्था सहज नहुँदासम्म जाँचपास भएका मालसामानसमेत यार्डबाट बाहिर निकाल्न सक्ने अवस्था छैन।
भारी वर्षाका कारण सडक अवरुद्ध भएपछि नयाँ कन्टेनरसमेत कोरला नाकाबाट थपिन सकेका छैनन्। चीनबाट सामान लिएर आएका कन्टेनर नाकातर्फ आइरहे पनि सडकको क्षमताका कारण तलतर्फ पठाउन समस्या भएको भन्सार कार्यालयले जनाएको छ।
यसको प्रत्यक्ष असर दसैँ–तिहार लक्षित व्यापार र सरकारी राजस्वमा परेको छ। कोरला नाकाबाट तयारी पोसाक, दैनिक उपभोग्य वस्तु, औद्योगिक कच्चापदार्थ, फलफूल, विद्युतीय सामग्री तथा विद्युतीय सवारीसाधन नेपाल भित्रिने गरेका छन्।
रसुवागढी–केरुङ र तातोपानी नाका प्रभावित भएपछि कोरला नाका उत्तरी व्यापारको महत्वपूर्ण वैकल्पिक मार्ग बनेको थियो। रसुवागढी नाका गत भदौ १० गते बाढीका कारण पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुँदै आएको भन्सार कार्यालयले जनाएको छ। सडक अवरुद्ध हुँदा अहिले त्यही व्यापारिक प्रवाहमा समेत अवरोध पुगेको छ।
दुई सय विद्युतीय सवारीसाधन पनि बाटोमै
सडक अवरोधको असर चिनियाँ सामान बोकेका कन्टेनरमा मात्रै सीमित छैन। करिब २०० विद्युतीय सवारीसाधनसमेत गन्तव्यतर्फ जान नसकी विभिन्न स्थानमा रोकिएका छन्। सशस्त्र प्रहरी बलका अनुसार तीमध्ये १०० भन्दा बढी विद्युतीय सवारीसाधन पाँच दिनदेखि जोमसोम बसपार्कमै रोकिएका थिए।
यसैबीच, जोमसोम–कोरला सडकखण्ड भने पाँच दिनपछि आजबाट सञ्चालनमा आएको छ। कालीगण्डकी करिडोर आयोजना, स्थानीय तह र सुरक्षा निकायको समन्वयमा पहिरो हटाउने तथा सडक सफा गर्ने काम गरेपछि उक्त खण्डमा आवागमन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
तर कोरला सडक सञ्चालनमा आए पनि सम्पूर्ण बेनी–जोमसोम–कोरला मार्ग अझै सहज भइसकेको छैन। सडक आयोजनाका अनुसार पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्म पाँच, बेनीदेखि अन्नपूर्ण गाउँपालिका–३ रुप्सेसम्म २५ तथा मुस्ताङको काभ्रेभीरदेखि कोरलासम्म १६ स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पुर्याएको थियो।
मालढुङ्गा–गलेश्वर तथा म्याग्दीको दानादेखि कोरलासम्मका अधिकांश अवरोध हटाएर सडक सञ्चालनमा ल्याइए पनि म्याग्दी खण्डको क्षति मर्मत गर्न चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ।
बाढीले रघुगङ्गा क्षेत्रका सडक तथा बैसरीका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएको छ। तातोपानी–पोखरेबगर जोड्ने पक्की पुलको एप्रोचसमेत बगाएको छ। तातोपानी, खामभित्ता, जलथले, भीरकाँटे र महभीरलगायत क्षेत्रमा सडक क्षतिग्रस्त भएकाले पूर्ण रूपमा नियमित यातायात सञ्चालनमा आउन अझै समय लाग्ने आयोजनाको भनाइ छ।
सडकमा भएको क्षतिका कारण चीनबाट दसैँका लागि भित्रिएका सामान भन्सारमै थन्किँदा व्यापारिक आपूर्ति शृंखलासँगै सरकारी राजस्वमा समेत प्रत्यक्ष असर परेको छ। उपकरण र जनशक्ति व्यवस्थापनमा समेत समस्या रहेकाले क्षतिग्रस्त सडक तत्काल पूर्ण रूपमा पूर्ववत् गराउन चुनौती देखिएको छ।
.jpg)
