काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन ऐतिहासिक पृष्ठभूमि बोकेको टुँडिखेलस्थित खुलामञ्चमा आयोजना गर्दैछ। महाधिवेशनको उद्घाटन आइतबार दिउँसो २ बजे हुनेछ।
कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलका रूपमा खुलामञ्चको राजनीतिक इतिहासमा विशेष महत्व छ। यही स्थानबाट कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलन सफल भएको घोषणा गरेका थिए ।
महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासहित विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने तयारी छ।
महाधिवेशन तयारीबारे शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यसपटकको अधिवेशनमा नयाँ पुस्ताको उल्लेख्य सहभागिता रहेको जानकारी दिए । उनका अनुसार कांग्रेसको आन्तरिक निर्वाचन प्रक्रियाबाट ४४ हजार युवा विभिन्न जिम्मेवारीमा निर्वाचित भएका छन्। उनीहरूसहित सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन्।
कांग्रेसको दोस्रो विशेष महाधिवेशन गत पुस २८ देखि माघ ३ गतेसम्म सम्पन्न भएको थियो। त्यसपछि हुन लागेको १५औँ महाधिवेशनमा ३५ वर्षभन्दा कम उमेरका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत क्षेत्र र विदेशमा रहेका नेपालीलाई समेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिइने भएको छ।
‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ महाधिवेशनको मूल नारा तय गरिएको छ। बन्दसत्रमा पार्टीको आगामी दिशा र नयाँ सङ्कल्पका विषयमा छलफल गरी त्यसको कार्यान्वयनको खाका तयार गर्ने कांग्रेसले जनाएको छ। नेतृत्व चयन पनि ती सङ्कल्प कार्यान्वयन गर्न सक्ने नेतृत्व छनोट गर्ने उद्देश्यमा केन्द्रित हुने प्रवक्ता चालिसेले बताए ।
कांग्रेसले आफ्नो विगतको राजनीतिक इतिहासलाई आगामी दिशासँग जोड्ने तयारीसमेत गरेको छ। बिपी कोइरालाको विचारलाई देशको समृद्धिको वैचारिक आधारका रूपमा अघि बढाउने विषय महाधिवेशनमा उठाइने कांग्रेसको भनाइ छ।
पार्टी कार्यालयका अनुसार देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ। करिब सात हजार पाँच सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अपेक्षा गरिएको छ।
महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शनिबारदेखि नै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। प्रतिनिधिले दर्ताका लागि रु तीन हजार पाँच सय शुल्क बुझाउनुपर्नेछ। आवास व्यवस्थापनका लागि निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहबाट संयोजक तोकिएको छ।
प्रतिनिधिहरूलाई आवाससम्बन्धी विवरण ह्वाट्सएप, एआई नम्बर तथा एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ।
उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिहरूलाई समूह विभाजन गरी तीनवटा हलमा छलफल गराइनेछ। डिजिटल बोर्डमार्फत सम्बन्धित प्रतिवेदन हेर्न र सुन्न सकिने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।
नेतृत्व चयनका लागि असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ। मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ। निर्वाचन समितिले आवश्यकताअनुसार निर्वाचन कार्यतालिका परिमार्जन गर्न सक्ने जनाएको छ।
महाधिवेशनमा आउने प्रतिनिधिका निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रियसभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। ठूला बसका लागि माइतीघर–भद्रकाली सडकखण्डको एक लेन प्रयोग गरिनेछ।
महाधिवेशनसम्बन्धी सूचना र गतिविधि सार्वजनिक गर्न खुलामञ्चमै मिडिया सेन्टर स्थापना गरिएको छ। त्यहाँबाट नियमित मिडिया ब्रिफिङ तथा सूचना अद्यावधिक गर्ने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।
.jpg)
