काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका तयारी थालेको छ । निर्वाचन तयारीका लागि उसले उम्मेदवार छनोटको प्रक्रिया समेत अघि बढाएको छ। रास्वपाको शनिबार काठमाडौंको घण्टीघरमा बसेको केन्द्रीय समिति बैठकले उम्मेदवार छनोट गर्न महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार केन्द्रीय समितिको बैठकले आचार्यको नेतृत्वमा उम्मेदवार छनोट समिति बनाएको हो। समितिमा विभिन्न प्रदेशलाई समेटेर सात जना सदस्य राखिएका छन्।
समितिका सदस्यमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैद्धिक, टासी ल्हाजोम र जनकसिंह धामी छन्।
रास्वपाले उम्मेदवार छनोटको काममा सबै प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी समिति गठन गरेको जनाएको छ। प्रवक्ता खरेलका अनुसार सातै प्रदेशका पार्टी सभापति समितिमा पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
यद्यपि समितिलाई पूर्णता दिन केही सदस्य अझै मनोनयन गर्न बाँकी रहेको खरेलले बैठकपछि जानकारी दिएका छन्।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले संगठनात्मक तयारीसँगै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको हो। उम्मेदवार छनोटको जिम्मेवारी पाएको समितिले अब स्थानीय तहअनुसार सम्भावित उम्मेदवारको प्रक्रिया अघि बढाउनेछ।
.jpg)
