काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे हुनेछ। महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।
उद्घाटन समारोहमा कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने कांग्रेसले जनाएको छ।
श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपाने पनि उद्घाटन समारोहमा सहभागी हुनेछन्। भारत, चीनलगायत विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिलाई समेत निमन्त्रणा गरिएको छ।
कांग्रेस सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरेका छन्। शनिबार सहमहामन्त्री योगेन्द्र चौधरी र सुदूरपश्चिम प्रदेश उपसभापति जनकराज चौधरी निमन्त्रणापत्र लिएर देउवा निवास पुगे पनि देउवाले भेट दिएनन्। देउवा पक्षले भने मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी अघि बढाएको छ।
७ हजार ५ सयभन्दा बढी प्रतिनिधि
महाधिवेशनमा करिब ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी भएका थिए। यसपटक प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले प्रतिनिधि चयन गरिएको छ।
आज उद्घाटनपछि असोज १९ र २० गते खुलामञ्चमै बन्दसत्र हुनेछ। त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ। असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ।
महाधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। मतदानका लागि काठमाडौँका सात स्थानमा केन्द्र व्यवस्थापन गर्ने तयारी छ। मतदान विद्युतीय मेसिनबाट नभई परम्परागत मतपत्रबाट हुनेछ।
नयाँ विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३१ सदस्यीय हुनेछ। सभापतिले ६१ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेछन्। केन्द्रीय सदस्यमध्येबाट एक कोषाध्यक्ष र तीन सहमहामन्त्री पनि मनोनीत हुनेछन्। प्रदेश सभापतिहरू स्वतः केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
मनोनयन सोमबार
केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन सोमबार दिउँसो २ देखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृहमा हुनेछ।
महाधिवेशनलाई व्यवस्थित बनाउन स्वास्थ्य, सुरक्षा, पार्किङलगायतका व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। खुलामञ्चमा ३० स्वास्थ्यकर्मी परिचालन गरी पाँच स्टलको हेल्थ डेस्क सञ्चालन गरिनेछ। दुई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन्।
प्रतिनिधिको उपचारका लागि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बीपी स्मृति अस्पतालसँग समन्वय गरिएको छ।
महाधिवेशनमा तामझामपूर्ण प्रचार नगर्न र पर्चा–पम्प्लेटको सट्टा प्रविधिको प्रयोग गर्न उम्मेदवार तथा प्रतिनिधिलाई आग्रह गरिएको छ। पार्टीहितविपरीत गतिविधि गर्नेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने कांग्रेसले जनाएको छ।
प्रतिनिधि तथा सहभागीका सवारी साधनका लागि धरहरा अन्डरग्राउन्ड, साल्ट ट्रेडिङ, पुरानो बसपार्क, भृकुटीमण्डप, राष्ट्रिय सभागृह, प्रज्ञा प्रतिष्ठान र दरबारमार्गस्थित अन्नपूर्ण होटलसहित आठ स्थानमा पार्किङको व्यवस्था गरिएको छ। उपत्यका बाहिरबाट आउने ठूला बसका लागि माइतीघर–भद्रकाली सडकखण्डमा पनि पार्किङ व्यवस्था मिलाइएको छ।
.jpg)
