गगन थापाले भने- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ

गगन थापाले भने- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ

प्रधानमन्त्रीका कारण संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ

images
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई ‘खुलामञ्च’ आवश्यक परेको उनको भनाइ छ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताए। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उनले स्मरण गरे।

    ‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भने, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’

    जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुलामञ्चबाट भाषण गरेको स्मरण गर्दै उनले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताए।

    ‘खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ,’ उनले भने।

    थापाले अब यस्ता खुलामञ्च देशका विभिन्न ठाउँमा आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो।

    ‘संसद अहिले खुला छैन। जनतालाई प्रधानमन्त्रीले जनताको ठूलो कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भने।

    उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै आफूलाई प्रधानमन्त्री बनाउने संसद र जनताको गरिमाका निम्ति संसदमा प्रधानमन्त्रीको उपस्थितिलाई महत्वपूर्ण माने।

    ‘जुन सांसदले जसलाई प्रधानमन्त्री बनाएको छ, आफूलाई प्रधानमन्त्री बनाउने संसद र जनताको गरिमाका निम्ति, व्यवस्थाका निम्ति जुन दिनसम्म त्यो ठाउँमा प्रधानमन्त्रीको गरिमामय उपस्थिति हुँदैन, त्यो दिनसम्म संसद खुला हुँदैन,’ थापाले भने।

    जनताका प्रश्न पुरानै छन्

    थापाले अहिलेको सरकार आएपछि मात्रै जनताका प्रश्न सिर्जना भएको नभई ती प्रश्न लामो समयदेखि रहेको बताए। उनले निर्मला पन्तदेखि तीनकुनेमा आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीसम्मका घटनाले राज्य र राजनीतिक नेतृत्वसँग प्रश्न गरिरहेको बताए।

    शान्ति र संविधान निर्माणपछि जनताले दलहरूले गरेका प्रयत्न र त्यसबाट प्राप्त परिणामलाई हेर्न थालेको भन्दै उनले राजनीतिक दलहरू भने प्रधानमन्त्रीको कुर्सीका लागि मात्रै दौडिरहेको सन्देश गएको स्वीकार गरे।

    ‘म्युजिकल चियरजस्तो भयो। नागरिकका जायज आकांक्षा थिए। हामी चुक्यौँ,’ उनले भने।

    उनका अनुसार प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति पटकपटक नेतृत्वमा दोहोरिने र मन्त्रीहरू पनि बारम्बार सत्तामा पुगिरहने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको हो।

    ‘प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भने, ‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।’

    एन्टी पोलिटिक्स र हाइपर पोलिटिक्स

    थापाले नेपालमा एकैपटक ‘एन्टी पोलिटिक्स’ र ‘अति राजनीतिकरण’ बढेको बताए। पुराना दल र सबै नेता खराब छन् भन्ने भाष्य निर्माण हुँदा त्यसले समग्र राजनीतिक प्रणालीप्रति नै अविश्वास बढाएको उनको भनाइ थियो।

    ‘पुराना दलहरू काम लाग्दैनन्। पुराना दलहरू काम छैनन्। सबै नेता एउटै हुन्। सबै सांसद खराब हुन्। सबै नेता खराब हुन्। यस्तो भाष्य बनाइयो,’ उनले भने।

    राजनीति मन पर्दैन भन्नेहरू समेत चिया पसलदेखि सामाजिक सञ्जालसम्म हरेक विषयलाई राजनीतिक आँखाले हेर्न थालेको भन्दै थापाले समाज ‘एन्टी पोलिटिक्स’ बाट ‘हाइपर पोलिटिक्स’ तर्फ गएको बताए।

    उनले राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि लामो समयदेखि ‘भुसको आगो’ जस्तै फैलिरहेको र त्यसले कुनै एउटा दल वा नेतालाई मात्र नभई समग्र राजनीतिक नेतृत्वलाई प्रभावित गरेको बताए।

    ‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ उनले भने।

    भदौ २३–२४ बाट पाठ सिक्नुपर्ने

    थापाले दुई ठूला दल मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति आएको बताए।

    राजनीतिक दलहरूले बदलिँदो जनभावना र जनताको असन्तुष्टिलाई समयमै बुझ्न नसकेको उनको स्वीकारोक्ति थियो।

    ‘दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार। सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,’ उनले भने।

    उक्त घटनाबाट कांग्रेससहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि प्रभावित भएको उल्लेख गर्दै थापाले त्यसबाट पाठ सिकेर कांग्रेस विशेष महाधिवेशनमा गएको बताए।

    ‘यहीँ हामीले बुझेनौँ। यसले कांग्रेस र अन्य पार्टीका नेता र कार्यकर्ता पनि भिक्टिम भए। तर पनि हामी सम्हालिनुपर्छ भनेर विशेष महाधिवेशनमा गयौँ,’ उनले भने।

    विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गए पनि परिणाम आफ्नो पक्षमा आउन नसकेको उनले बताए। कांग्रेसले विगतमा पनि हार र जित व्यहोर्दै आएको उल्लेख गर्दै थापाले अहिले १५औँ महाधिवेशनमार्फत नयाँ राजनीतिक यात्राको सुरुवात गर्नुपर्ने बताए।

    पार्टीभित्र पनि ‘खुलामञ्च’ चाहियो

    थापाले लोकतन्त्र संसद र सडकमा मात्रै खोजेर नहुने भन्दै राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्ने बताए।

    उनका अनुसार पार्टीभित्र नेतामाथि प्रश्न उठाउने, फरक मत राख्ने र आलोचना गर्ने अधिकार सुरक्षित हुनुपर्छ।

    ‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने।

    फरक विचार राख्नेबित्तिकै पार्टी सदस्यता गुम्ने वा नेतृत्वको आलोचना गर्न नसक्ने अवस्था लोकतान्त्रिक दलको चरित्रसँग मेल नखाने उनको भनाइ थियो।

    ‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने।

    उनले पहाडदेखि तराईसम्म र भौतिक ठाउँदेखि विद्युतीय माध्यमसम्म नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने खुला संवादका थलो आवश्यक रहेको बताए।

    १५औँ महाधिवेशनका क्रममा १० वर्षपछि खुलामञ्चमा कांग्रेसको कार्यक्रम हुनु पनि खुला संवाद र जनतासँगको सम्बन्ध पुनः स्थापित गर्ने अवसर भएको उनको भनाइ थियो। खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्र नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend