काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन तीन ठाँउमा अलग अलग मतदान केन्द्र बनाई हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूले प्रदेश तथा समूहअनुसार छुट्टाछुट्टै मतदान केन्द्रमा मतदान गर्नेछन्।
निर्वाचन समितिका अनुसार मतदान असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। ७ हजार ७ सय जति महाधिवेशन प्रतिनिधि सहभागी भएको कांग्रेसको महाधिवेशनमा एकै दिन मतदान गराउन सजिलो हुने गरी तीन ठाँउमा मतदान केन्द्र तय गरेर प्रदेश अनुसार अलग अलग मतदानको ब्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि राष्ट्रिय सभा गृह, खुल्लामञ्च र प्रज्ञा भवनलाई मतदान केन्द्र बनाइएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग ९मतदान केन्द्र ‘क’) बागमती प्रदेशका महासमिति सदस्यले मतदान गर्नेछन् । त्यस्तै खुलामञ्च, (मतदान केन्द्र ‘ख’) मा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश, साथै भातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व भएर आउने महासमिति सदस्यले मतदान गर्नेछन् ।
त्यसैगरी प्रज्ञा भवन, कमलादी (मतदान केन्द्र ‘ग’) मा गण्डकी र लुम्बिनी प्रदेश का महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २१ गतसम्म उम्मेदवारी दर्ता, उम्मेदवारको पहिलो तथा दोस्रो नामावली प्रकाशन, दाबी विरोध तथा उम्मेदवारी फिर्तासहितका प्रक्रिया पूरा गरिनेछ।
मतदान सकिएपछि मतगणना सुरु हुने र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
हेर्नुहोस कार्यतालिका
.jpg)
