कांग्रेसमा गगन युग : ९३.८८ प्रतिशत मतसहित सभापतिमा निर्वाचित

कांग्रेसमा गगन युग : ९३.८८ प्रतिशत मतसहित सभापतिमा निर्वाचित

images
शनिवार, आश्विन २४ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै भारी मतान्तरसहित सभापति पदमा विजय हासिल गरेका हुन्।

    सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ।

    कुल खसेको मतमध्ये थापाले ९३.८८ प्रतिशत मत प्राप्त गर्दा खड्गीले ५.३५ प्रतिशत मत पाएका छन्। बदर मतको हिस्सा ०.७७ प्रतिशत रहेको छ। थापाले खड्गीलाई ६ हजार २०९ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्।

    यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन, संगठनात्मक सुधार र पुस्तान्तरणको पक्षमा सक्रिय रहँदै आएका थिए। पार्टीको नेतृत्व र संरचनामा परिवर्तनको मागसहित उनले विभिन्न चरणमा राजनीतिक पहलसमेत गरेका थिए।

    GD_KTM_RSS_19__DG_0384(2).jpeg

    तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा आयोजित विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेको थियो। उक्त विशेष महाधिवेशनपछि कांग्रेसको नेतृत्व, पार्टीको वैधानिकता र संगठनात्मक संरचनालाई लिएर बहस उत्पन्न भएको थियो।

    विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाएका थापाले त्यसपछि सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनबाट भारी मतसहित सभापति पदमा आफ्नो विजय सुनिश्चित गरेका छन्। निर्वाचनको परिणामले पार्टीको नेतृत्वमा उनको बलियो समर्थन देखाएको छ।

    BO_KTM_RSS_23_1000198069.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend