काठमाडौँ। दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर डेविड मिलर नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउने भएका छन्। तेस्रो संस्करणको एनपिएलका लागि कर्णाली याक्सले विश्व क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङका कारण चर्चित मिलरलाई अनुबन्ध गरेको हो।
कर्णाली याक्सले शुक्रबार मिलरलाई टोलीमा भित्र्याएको घोषणा गरेको छ। मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने बायाँहाते ब्याटर मिलरको आगमनसँगै कर्णालीले आफ्नो टोलीलाई थप बलियो बनाएको छ।
३७ वर्षीय मिलर अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका चर्चित फ्रेन्चाइज लिगमा आफ्नो प्रभाव जमाइसकेका खेलाडी हुन्। उनी इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको बिग बास लिग र पाकिस्तान प्रिमियर लिगलगायत प्रतियोगितामा खेलिसकेका छन्।
आइपिएलमा दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका मिलर सन् २०२२ मा गुजरातले उपाधि जित्दा टोलीका महत्त्वपूर्ण खेलाडी थिए।
विश्व क्रिकेटमा आक्रामक ब्याटिङको पहिचान
मिलरको विशेषता कठिन परिस्थितिमा पनि आक्रामक ब्याटिङ गर्दै खेलको दिशा बदल्न सक्ने क्षमता हो। उनको अनुभव र विस्फोटक ब्याटिङले एनपिएलमा कर्णालीको प्रदर्शनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
दक्षिण अफ्रिकाबाट उनले १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई हजार ८०४ रन बनाएका छन्। यस क्रममा दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्।
मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा शतक प्रहार गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीव्र शतकको कीर्तिमान बनाएका थिए। त्यस्तै, आइपिएलमा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ३८ बलमा शतक बनाएका थिए।
विदेशी खेलाडीमा कर्णालीको आक्रामक रणनीति
मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौँ विदेशी खेलाडी हुन्। यसअघि क्लबले पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान र अलराउन्डर हुसेन तलातलाई टोलीमा समावेश गरिसकेको छ।
दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि यसपटक कर्णालीबाटै खेल्नेछन्। अरिफुल र अकबरसहित विदेशी खेलाडीको संयोजनले टोलीको ब्याटिङ र अलराउन्ड क्षमतालाई थप बलियो बनाउने कर्णालीको अपेक्षा छ।
कर्णाली याक्स स्पोर्ट्सका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको अपेक्षाअनुसार विश्वचर्चित खेलाडी अनुबन्ध गर्न सफल भएको बताएका छन्।
उनले मिलर, फरहान र तलातजस्ता खेलाडीको आगमनले कर्णाली याक्सको प्रदर्शनमा मात्र नभई समग्र एनपिएलको आकर्षण र नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
पहिलो संस्करणमा भारतीय क्रिकेटर शिखर धवनलाई अनुबन्ध गरेर चर्चा कमाएको कर्णालीले यसपटक उपाधिलाई मुख्य लक्ष्य बनाएको घिमिरेको भनाइ छ।
सोमपाल कामीको कप्तानीमा नेपाली खेलाडीको साथ
कात्तिक ९ गतेदेखि सुरु हुने एनपिएलमा कर्णाली याक्सको मार्की खेलाडी सोमपाल कामी छन्। राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि टोलीमा छन्।
त्यस्तै, कर्णाली प्रदेशका विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई पनि टोलीले अनुबन्ध गरेको छ।
विश्वस्तरीय अनुभव भएका विदेशी खेलाडी र नेपाली क्रिकेटरको संयोजनसहित कर्णाली याक्स यसपटक उपाधि दौडमा बलियो चुनौती प्रस्तुत गर्ने लक्ष्यमा छ। मिलरको आगमनले टोलीको ब्याटिङ कति प्रभावकारी हुन्छ भन्ने चासो भने एनपिएल सुरु भएसँगै देखिनेछ।
.jpg)
