म्याग्दी । ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ जाने सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङतर्फ जोडिने सुरुङ बुधबार छेडिएको हो ।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार छहरीको अडिटदेखि धवलागिरि–४ खाम्लास्थित बाँधतर्फ जाने २ हजार ५०६ दशमलव ३९ मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । बाँधतर्फ निर्माण गर्नुपर्ने कुल ३ हजार २८३ दशमलव ३२ मिटरमध्ये हालसम्म १ हजार ९७३ मिटर सुरुङ निर्माण सकिएको छ ।
बाँकी सुरुङ निर्माण पनि केही महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको केसीले जानकारी दिए ।
आयोजनाको हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको छ भने आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले २०८१ भदौदेखि मुख्य सुरुङ निर्माण थालेको थियो ।
आयोजनामा बाँध, सुरुङ र विद्युत्गृह निर्माणसँगै हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फका कामलाई पनि तीव्रता दिइएको छ । तर, बर्खायाममा बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो, दुखुखोला सडक पुलको जोखिम र शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइले आयोजना निर्माणमा असर पुर्याएको छ ।
सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकको ऋण तथा प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत आयोजनामा ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँ लगानी जुटाइनेछ । आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ ।
भारवाङदेखि १ दशमलव ५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी डाँडाखेतमा निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभी सबस्टेसनमार्फत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ ।
रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहसम्मको उचाइ १९६ मिटर छ । आउटलेटबाट विद्युत्गृहसम्म पानी लैजान ६९२ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ ।
ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन प्रालि आयोजनाको परामर्शदाता हो । मेकानिकल तथा इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट प्रक्रिया अघि बढाइएको छ । अपर म्याग्दी–१ ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध आयोजना हो ।
.jpg)
