काठमाडौं / देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित रहेकाले देशभर यसको प्रभाव कायम छ।
विभागले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा पहाडी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। हिमाली क्षेत्रका केही स्थानमा भने मध्यम वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ।
बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान, साथै मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको प्रक्षेपण छ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी गण्डकी र बागमती प्रदेशका केही पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुन सक्ने चेतावनी विभागले दिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले भारी वर्षाको जोखिम रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षय हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरेको छ।
.jpg)
