एनपिएलको तेस्रो संस्करण आजदेखि सुरु

उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा

उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा

विजेता टोलीले नेपाली खेलकुदकै सर्वाधिक १ करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथोले ३० लाख पाउने

images
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। एक महिनासम्म चल्ने यो प्रतियोगितामा देशका सातवटै प्रदेशबाट आठ फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले लगातार तेस्रो वर्ष एनपिएल आयोजना गरेको हो ।

    २१ नोभेम्बरसम्म चल्ने यो क्रिक्रेटको महोत्सवमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विराटनगर किंग्स, मधेशबाट जनकपुर बोल्ट्स, बागमतीबाट दुई टिम चितवन राइनोज र काठमाडौं गोर्खाज्, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, कर्णालीबाट कर्णाली याक्स र सुदूरपश्चिमबाट सुदूरपश्चिम रोयल्सले खेल्दै छन् । 

    यस पटकको एनपिएल धेरै विशेषताका साथ विशेष बनेको छ :

    आइसिसीको मान्यता :  दुई सफल संस्करणपछि एनपिएलले आधिकारिक रूपमा 'लिस्ट ए' मान्यता पाएको छ। अब टिमहरूले गोलाप्रथा बिना नै टेस्ट राष्ट्रका उत्कृष्ट खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन्।

    नयाँ प्रविधि (डिआरएस) : नेपाली क्रिकेटमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ, जसले खेलको विश्वसनीयता थप बढाउनेछ।

    विश्वचर्चित खेलाडीहरूको सहभागिता :  डेबिड मिलर, आन्द्रे रसेल, जिमी निसम, साहिबजादा फर्हान, मोइन अली, र सकिब अल हसन जस्ता अन्तर्राष्ट्रिय स्टार खेलाडीहरू यसपटक मैदानमा उत्रिनेछन्।

    आकर्षक पुरस्कार राशि :  विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ (नेपाली खेलकुदकै सर्वाधिक) प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथोले ३० लाख पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई कार प्रदान गरिनेछ।

    क्यानका अनुसार यस प्रतियोगिताको अवधिभर डेढ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।

     

    images
    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend